दैलेख : रत्न राजमार्ग अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्रा खोला नजिक आइतबार बिहान सवारी दुर्घटना हुँदा तीन जना स्वास्थ्यकर्मीसहित चार जनाको मृत्यु भएको छ । छिन्चुबाट सुर्खेत बजार (वीरेन्द्रनगर) आउँदै गरेको बाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्वरकोे डवल क्याप हाईलेक्स दुर्घटना हुँदा दैलेखका तीन जना स्वास्थ्यकर्मीसहित चार जनाको मृत्यु भएको हो ।
जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । सवारी दुर्घटनामा परि मृत्यु हुनेमा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ बस्ने ३३ बर्सिया दिपेन्द्रजंग शाही, भगवतीमाई गाउँपालिका–५ बस्ने ३१ बर्सिया बबिन शाही, गुराँस गाउँपालिका–३ बस्ने ३६ बर्सिया राजेन्द्र बिसी र वीरेन्द्रनगर नगरपालिका–७ बस्दै आएका दैलेखको भैरवी गाउँपालिकाका २७ बर्षिया सागर शाही रहेका छन् ।
दुर्घटना पछि उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा उनीहरूको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ । दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ बस्ने २६ बर्षिया वीरेन्द्रराज शाही गम्भीर घाइते भएका छन् । उनको उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए ।
सवारी दुर्घटनामा मृत्यु भएका तीन जना दैलेखका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत स्वास्थ्यकर्मी रहेका जनाइएको छ । मृत्यु भएका तीन जना मध्ये दिपेन्द्रजंग शाही डुङ्गेश्वर गाउँपालिका, बबिन शाही भगवतीमाई गाउँपालिका र राजेन्द्र बिसी गुराँस गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत रहेका स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ ।
समीक्षा गोष्ठीमा
सहभागी हुन सुर्खेत
कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार एचएमआइएस, भिएसआइएस, इएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा दैलेख र सुर्खेतका स्थानीय तहमा कार्यरत स्वास्थ्य प्रमुखहरूलाई वीरेन्द्रनगर बोलाएको थियो । सोही गोष्ठीमा सहभागी हुन गुराँस गाउँपालिकाका राजेन्द्र बिसी, डुङ्गेश्वर गाउँपालिकाका दीपेन्द्र शाही, भगवतीमाई गाउँपालिकाका बबिन शाही र भैरवी गाउँपालिकाका वीरेन्द्र शाही सुर्खेत पुगेका थिए ।
शनिवारको गोष्ठी सम्पन्न भएपछि बेलुका भैरवीकै सागर शाहीसँग भेट भयो । धेरै समयपछि भेट भएको भन्दै चारै जनाले खुसी मनाउने निधो गरे । भेरीगंगा नगरपालिका–१ मा रहेको एक कटेजमा रमाइलो गर्ने भन्दै साँझ ६ बजेतिर उनीहरू वीरेन्द्रनगरबाट भेरीगंगा गएका थिए । राति अबेरसम्म खानपिन गरेर रातिको करिब १२ बजेतिर पाँचै जना वीरेन्द्रनगरतर्फ फर्कँदै थिए ।
उनीहरू सवार गाडी सागर शाहीले चलाएका थिए । रातिको समय भएको र हुस्सुले सडक ढाकेको थियो । गीतको तालमा गाडीले झुप्रा खोला जाने बाटो क्रस ग¥यो । त्यसपछि गाडीले करिब तीन सय मिटर अगाडि पुग्ने बित्तिकै सडक छेउमा निर्माण गरिएको डिभाइडरमा सो गाडी बजारिन पुग्यो ।
त्यति बेलासम्म होसमा थिए वीरेन्द्र शाही । गाडीले ६ वटा डिभाइडर भत्काउँदै सडकभन्दा करिब १० मिटर तल उत्तानो परेर बजारियो । गाडी चालक सागर, राजेन्द्र, दीपेन्द्र र बबिन गम्भीर घाइते भए । गम्भीर घाइते वीरेन्द्रले प्रहरीलाई फोन गरे । बिहान करिब साढे २ बजेतिर प्रहरीले उनीहरूको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पु¥यायो । वीरेन्द्र बाहेक अन्य चार जनाको उपचारकै क्रममा ज्यान गयो ।
दुर्घटनामा परी घाइते भएका वीरेन्द्रले भने, ‘गाडी स्पिडमा पनि थिएन हुस्सु पनि लागेको थियो, गाडी अगाडि बढ्दै थियो । खै एक्कासि के भयो भयो, गाडी खसेपछि म सडकको छेउमा बजारिन पुगे । जसोतसो गरी उठे र प्रहरीलाई फोन गरे, त्यसपछि मलाई कहाँ के भयो थाहै भएन ।’’ घाइते भएका वीरेन्द्रलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ ।






